अन्तर्वार्ता

‘विगुटारको समृद्धीका लागि काम गर्नेछु’

By Bala Adhikari

June 21, 2017

रणमान भुजेल- वडाध्यक्षका उम्मेदवार वडा नं. ७ सिद्धिचरण नगरपालिका, ओखलढुंगा

रणमान भुजेल बहुजाती र बहुभाषी समुदायको बसोवास रहेको साविकको विगुटार गाविस हालको सिद्धिचरण नगरपालिका वडा नं ७ का नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार हुन् । विगुटारको विकासमा समर्पित रहेका भुजेल स्वच्छ छवि र इमान्दार नेताको रुपमा ओखलढुंगामा परिचित छन् । लामो समयसम्म शिक्षण पेशामा रहेका भुजेल अवकासपछिका दिनहरुमा समाजसेवा र राजनीतिमा क्रियाशील छन् । नेपाली काँग्रेस विगुटार गाँउ कार्यसमितिको सचिव र सभापति हुँदै राजनीतिमा क्षेत्रिय उपसभापति समेत भुजेल रहेका छन् । वडाध्यक्षको उम्मेरदवारी दर्ता गरेपछि उनै रणमान भुजेलसँग हरेकपलका लागि नारायण सापकोटाले गरेको संवादको सम्पादित अंश :

यहाँले सिद्धिचरण नगरपालिकाको वडा नं. ७ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भयो । यसलाई कसरी लिनु हुन्छ ? पार्टीले मलाई विगुटार जस्तो सुन्दर गाँउको नेतृत्व गर्न वडाध्यक्षमा उम्मेदवार बनाएको छ । पार्टीको निर्णय अनुसार मेरो उम्मेदवारी दर्ता पनि भयो । मलाई विस्वास गरेर पार्टीले दिएको जिम्मेवारी इमान्दारीका साथ जनताको सेवा समर्पित गर्नेछु । स्थानीय तहको निर्वाचनमा सिद्धिचरण नगरपालिकाको विकास , सम्भावना र समृद्धीसँगै विगुटारको भविष्यका लागि पनि नेपाली काँग्रेसका मेय देखि वडा सदस्यसम्मका उम्मेदवार विजय गराउनु पर्छ । म यही अभियानमा छु ।

मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवार विजय गराउन के गदै हुनुहुन्छ ? पहिलोदेखि जनताको घर घरमा नेपाली काँग्रेस विजय पछि गर्ने योजना लिएर पुगेको छु । घर दैलो कार्यक्रमसंगै वडा भेला पनि सम्पन्न भएको छ भने विगुटक्सारमा वृहत चुनावी सभा समेत भएको छ । त्यसैले नेपाली काँग्रेसका उम्मेद्वारलाई विजयी गराउन जनता उत्साही छन् । यहाँ भएको कार्यक्रममा एमाले माओवादीका झण्डै दुई दर्जन सक्रिय कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

के के योजना छन् ? सिद्धिचरण नगरपालिकाको भू–राजनीति अवस्था अन्य नगरको भन्दा पृथक छ । गाँउहरुलाई मिलाएर नगरपालिका भएको छ । त्यसमा पनि विगुटारको भू–राजनीति जटिल छ । विगुटारमा मोटर बाटो त पुगेको छ तर गाडी सहज रुपमा पुग्न सकिरहेको छैन । नगरका आधारभूत पूर्वाधार विना नै विगुटार नगरपलिका हुन पुगेको छ । एउटा विकट गाउँलाई नगरपलिकाको वडा कसरी हुन्छ ? यो प्रमुख प्रश्न जनता ले गरिरहेका छन् । जनताको भावना बुझेर सिद्धिचरण नगरपालिकालाई नगर जस्तै बनाउनु छ । त्यसको अभिभारा डिल्लीराम खनालको नेतृत्वमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएपछि मात्र सम्भव छ । यो कुरा विगुटारका जनताले बुझेका छन् । हामीले पनि जनताको जनजीविकाका समस्याहरुलाई नजिकबाट बुझेका छौं ।

के–के छन् त जनता समस्याहरु ? ओखलढुंगा जिल्ला सदरमुकाम नजिक रहेर पनि विगुटार विकासमा पछि परेको गाउँ हो । सबैभन्दा मोटर बाटो नै यस वडाको प्रमुख समस्या हो । चित्रेदेखि विगुटारसम्मको बाटोलाई कालोपत्रे गर्नु छ । धुन्सा डाडा गाउँ र डाडा गाउँ विगुटार जोड्ने बाटो बनाउनु छ । सर्सेपुबाट विन्दु जोड्ने बाटो पनि बनाउनु छ । यी मोटर बाटाहरु बनाउने हाम्रो योजना छ । विगुटक्सार र चित्रे जोड्ने बाटोको पोक्तिङ खोलामा पक्कि पुल बनाउने छौं । आवश्यता अनुसार झोलुङगे पुल पनि निर्माण गर्नुछ । ओखलढुंगा जिल्लाकै विगुटार तरकारी खेतीको सम्भावना भएको प्रमुख ठाउँ हो । सिंचाइको व्यवस्था गरी विगुटारलाई तरकारी खेतीको पकेट क्षेत्र घोषणा गर्ने हाम्रो योजना छ । द्याम्के विगुटार सिचाई परियोजना निर्माण गर्ने छौं । विगुटारको अर्को समस्या भनेको विजुलीको पोल रहेको छ । काठको सट्टा फलामको फोल राख्ने भनेका छौं । विगुटारको शिक्षा, स्वस्थ्य र खानेपानीको समस्या पनि सम्बोधन गर्नु छ । भूकम्पले सबै विद्यालय भवनहरु ,निजी घर र स्वास्थ्य चौकीको भवन समेत भत्किएको छ । यी भवनहरुको नवनिर्माण गर्नुछ । भूकम्प प्रताडितलाई जीवन गुजारको आधार दिनु छ । विगुटारमा वडा कार्यालय भवन बनाउनु छ । जनताका आवश्यकता र समस्याहरु धेरै छन् । यी आवश्यकता र समस्या बिचबाट हामी जनताका अधिकार जनताकै घरमा पुर्याउन प्रतिबद्ध छौं ।

कसरी प्रतिबद्धता पुरा गर्नु हुने छ त ? यदी हामी निर्वाचित भयौ भने, जनताको विचार र भावानाको सम्मान गर्दै लोकतान्त्रिक विधि र प्रक्रियाबाट स्थानीय तहको वडाको काम कर्तव्य र अधिकार भित्र रहेर नीतिगत रुपमा कार्यावन्यन हुने भौतिक पूर्वाधार निर्माण गर्ने, जनताको आधारभूत आवश्यकता परिपूर्ती खालका योजनाहरु कार्य रुपमा अघि बढाउने छौं । त्यसैगरी जनताका आर्थिक समृद्धीसँग जोडिएका क्षेत्रहरुलाई प्राथमिकता राखेर निस्वार्थ रुपमा काम गर्ने छौं । कृषिको व्यवसायीकरण गरी विगुटारलाई समृद्ध बनाउने छौ ।

-हरेकपल डट कमबाट