समाचार

भक्तपुरमा अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

By Bala Adhikari

May 27, 2018

भक्तपुर, जेठ १३ । शनिबारदेखि चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शुरु भएको छ ।

काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा थालिएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुले सहभागिता जनाएका छन् ।

उक्त फेस्टिभलमा प्रत्येक दिन बिहान ११ र दिउँसो १ बजे विद्यार्थीलाई तथा साँझ ५ बजे वयष्कलाई लक्षित गरेर नाटक प्रदर्शन गरिने जानकारी गराएको छ ।

बालबालिकाको नेतृत्व विकासका साथै क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ नाटक फेस्टिभल गरिएको स्कूलका प्रिन्सिपल अञ्जु भट्टराईले जनाइन् । अक्षरा स्कूलले ‘संस्कारयुक्त शिक्षा’ भन्ने मूल नारा दिएर विद्यार्थीलाई पठनपाठन गराउँदै आइरहेको छ ।

घोकाइ र पाठ्यपुस्तकमा मात्र आधारित नभएर व्यावहारिक ज्ञानमार्फत विद्यार्थीको सिकाइमा अक्षराले जोड दिँदै आइरहेको उनले बताइन् ।