कभर स्टोरी

‘बजेटले मुलुकको आर्थिक विकासमा मद्दत पुग्ने’

By Bala Adhikari

June 03, 2018

काठमाडौँ, जेठ २० । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको सांसद विष्णु पौडेलले बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । आगामी आवमा बजेट आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ठीक स्थानमा राख्ने लक्ष्य लिएको भन्दै उनले बजेटले समृद्धिको बाटो देखाउने बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले कर प्रणालीको सुधार र रोजगारी वृद्धिलगायतका कार्यक्रम समेटेको भन्दै पूर्वाधारको विकासमा पनि बजेटले विशेष जोड दिएको जनाए ।

विगतमा काँग्रेसले लिएको आर्थिक नीतिले देशको आर्थिक आधार तयार गरेको दाबी गर्दै सदनमा प्रस्तुत बजेटमा नयाँ विषय नभएको नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रस्ट पारे ।

परिवर्तित सन्दर्भमा सरकारले प्रस्तुत गरेको बजेटले ठूलो सम्भावना किटान गर्न सक्ने भए पनि त्यस्तो नभएको भन्दै उनले बजेटले लिएको आर्थिक वृद्धिदर, विकास, रोजगारी सिर्जना गर्नेजस्ता विषय राम्रा विषय ल्याएको भए पनि कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न उठेको बताए ।

बिपी कोइरालाले २०१५ सालमा गरीब जनतामा आधारित भएर दूरदृष्टिका आधारमा बजेट बनाउने गरिएको भन्दै उनले काँग्रेसको नेतृत्वको सरकारले ल्याएको बजेटले उदारीकरण र निजीकरणको मान्यताबाटै आर्थिक आधार बनेको बताए ।

काँग्रेसका सफल अर्थमन्त्रीले ल्याएको बजेटले देशको बजेटको आधार वृद्धि भएको भन्दै गच्छदारले वायु सेवा, सञ्चार क्षेत्रलगायतका क्षेत्रमा काँग्रेसले लिएको तत्कालीन नीतिले नै ठूलो परिवर्तन भएको उल्लेख गरे ।