कभर स्टोरी

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

By Bala Adhikari

June 05, 2018

काठमाडौँ, जेठ २२ । आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

उनले आज विश्व वातावरण दिवसका अवसरमा एक सन्देश जारी गर्दै वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी औंल्याएका छन् ।

आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएकाले उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु सबैको दायित्व रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कामलाई अगाडि बढाउन आवश्यकता औंल्याएका छन् ।

देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उनले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताए ।

प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध पनि गरेका छन् ।

वातावरणीय प्रभाव मूल्यांंकन बिनागरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ ।

वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उनले आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो ।

यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ भन्ने रहेको छ ।