कभर स्टोरी

काठमाडौँ महानगरपालिकाका सम्पूर्ण वडामा वृक्षरोपण

By Bala Adhikari

June 05, 2018

काठमाडौँ, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँ महानगरपालिकाका सम्पूर्ण वडामा वृक्षरोपण गरिएको छ ।

कामपाले आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य रहेको जनाएका छन् । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण गर्न मुख्य चुनौती रहेको विचार प्रस्तुन गरिन् ।

कामपा वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले आउँदो पाँच वर्षमा हरियालीका क्षेत्रमा देखिने उपलब्धि हासिल हुनेमा विश्वस्त रहन अनुरोध गरे । यस अवसरमा कामपाले प्रत्येक वडालाई २०० बिरुवा रोप्न निर्देशन दिँदै केही समयभित्र तथ्यांक दिन आग्रह गरेको छ ।

यस वर्ष वातावरण दिवसको सन्दर्भ पारेर महानगर क्षेत्रभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी तथा वित्तीय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत क्षेत्रमा वृक्षरोपण गर्न थालिएको छ । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन अनुरोध गरेको हो ।

यस वर्ष कामपाले ‘काठमाडौँ हरियाली मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली’ भन्ने नारासहितको अभियान चालेको छ । रोपिएका बिरुवाको तथ्यांक लिने, ती बिरुवा संरक्षणको निरन्तर नियमन गर्ने र बिरुवा हुर्काउने जो कोहीलाई मूल्यांकन गरी कामपाले सम्मान गर्ने बताएको छ ।