कभर स्टोरी

लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा

By Bala Adhikari

June 07, 2018

लहान, जेठ २४ । लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन् ।

सिरहाको मिर्चैया नगरपालिकामा विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले धर्ना दिएका हुन् । तलब उपलब्ध गराउनका लागि पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब नदिएकाले आफुहरु बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अवस्थामा नगरपालिकाले तलब नदिँदा समस्यामा परेको स्वास्थ्यकर्मीहरुले गुनासो व्यक्त गरेका छन् ।

तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडासमेत तिर्न नसकेको भन्दै स्वास्थ्यकर्मीले मानसिक र शारीरिक समस्या भोग्नुपरेको दुखेसो पोखेका छन् ।

यस्तै स्वास्थ्यकर्मीले गठन गरेको संघर्ष समितिले बुधबार मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

यता मिर्चैया नगरपालिकाका प्रमुख यादवले स्वास्थ्य मन्त्रालयबाट तलबका लागि रकम नपठाएकाले तलब वितरण गर्न नसकेको जनाएका छन् ।

विकासको बजेटबाट रु ३० लाख रकम स्वास्थ्य क्षेत्रमा लगानी गरेको भन्दै नगरप्रमुख यादवले तत्काल दुई महिनाको भए पनि अर्को क्षेत्रको रकमबाट स्वास्थ्यकर्मीलाई तलब वितरण गर्ने प्रयासमा रहेको बताएका छन् ।

मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र र सातवटा स्वास्थ्य चौकीमा गरी करीब ६५ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।