कभर स्टोरी

निर्धक्क भएर निर्वाचनमा भाग लिन गृहमन्त्रीको अनुरोध

By Bala Adhikari

June 26, 2017

दाङ, असार १२ । स्थानीय तहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको गृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।

तुलसीपुरमा पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । शान्ति सुरक्षाको तर्फबाट कुनै पनि कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिनका लागि गृहमन्त्री शर्माले सबैलाई आग्रह गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण ढंगले हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको बताउँदै भने शान्ति सुरक्षा पुर्याउन नसक्ने भएर होइन । उनले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताएका छन् । त्यस्तै संविधानप्रति असन्तुष्ट हुदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उनको भनाई छ ।

स्थानीय निकायको निर्वाचन सम्पन्न भएपश्चात मङ्सिर भित्रै अन्य निर्वाचन गरिसक्ने सरकारले तयारी गरेको गृहमन्त्री शर्माले बताए ।