कभर स्टोरी

मतदाता परिचयपत्र वितरण सुरु

By Bala Adhikari

June 26, 2017

काठमाडौँ, असार १२ । यही असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण भइरहेको छ ।

दोस्रो चरणको स्थानीय निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकै पटक पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणका लागि मङ्गलबारसम्मको समय तोकेको छ । दोस्रो चरणको निर्वाचनको लागि कायम गरिएका चार हजार ५८१ मतदानस्थलबाट मतदाताले धमाधम परिचयपत्र बुझेर लैजाने कार्य भइरहेको उनले जानकारी गराएका छन् ।

आयोगले मतदाता परिचयपत्र वितरण गरेसँगै कसरी मतहाल्ने भन्ने सिकाउन हरेक मतदान केन्द्रमा एक जनाको दरले मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको छ । दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, ११ नगरपालिका, २१५ गाउपालिका गरी ३३४ स्थानीय तहमा हुँदैछ । यो निर्वाचनका लागि तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छ ।