कभर स्टोरी

सामाजिक अपराध समृद्धिको बाधक : गृहमन्त्री थापा

By Bala Adhikari

June 10, 2018

काठमाडौँ, जेठ २७ । सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा पलाएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी बनाउँदै लगिएको बताए ।

उनले महिला तथा बालबालिका क्षेत्रमा देखिएका जोखिमका विषयमा छानबिन गर्न समिति बनाएर अगाडि बढाइएको जनाउँदै उनले त्यसतर्फ गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।

विखण्डनकारी, अतिवादको अन्त्यका लागि राजनीति तथा प्रशासनिक दुबै कार्यलाई अगाडि बढाइएको भन्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र मुलुकको विकासको बाधकका रुपमा रहेको संगठित अपराधको नियन्त्रणमा विशेष अभियान थालिएको बताए ।

समाजको सदाचारको लज्जाजनक अवस्थामा लागुऔषध तथा मदिरा नियन्त्रण गर्न लागिएको भन्दै उनले यातायात क्षेत्रको मिलेमतो खारेज भएको र अन्य क्षेत्रमा रहिआएको मिलेमतोलाई नियन्त्रण गर्ने बताए । विपद् जोखिम न्यूनीकरणका विषय प्रभावकारी बनाउने भन्दै गृहमन्त्री थापाले क्षतिको आधारमा उद्धार र राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले कानून बमोजिम भएका सम्झौताको कार्यान्वयन नगर्ने निर्माण क्षेत्रमा गृह मन्त्रालय गम्भीर भएर लाग्ने बताएका छन् । गृहमन्त्री थापाले सीमा सुरक्षाको क्षेत्रमा सबै सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गरिएको जनाए ।

उनले आगामी आवमा सुरक्षाको विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी गराएका छन् ।