कभर स्टोरी

जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको : भट्टराई

By Bala Adhikari

June 14, 2018

काठमाडौँ, जेठ ३१ । लामो समयको प्रयासबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रमा बोल्दै उनले कम्युनिष्टहरुबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश पुगेकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताएका हुन् ।

विगतमा हामी मागहरु पेश गर्ने हैसियतमा थियौँ, आज माग पूरा गर्ने जिम्मेवारीमा छौँ– नेता भट्टराईले भने । सबै जनता र राष्ट्रको अगुवाइको जिम्मेवारी पूरा गर्ने दायित्व आफुहरुको काँधमा आएको उनको भनाइ छ ।

नेकपाका स्थायी कमिटीका पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण बनेको भन्दै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्माले चौतारी र प्रेस सेन्टर नेपालको एकता र सशक्तताका लागि शुभकामना व्यक्त गरे । चौतारीका अध्यक्ष गणेश बस्नेतले दुई संगठनको एकताका लागि गठित कार्यदलको कार्यतालिका अनुसार दुई संगठनको एकता छिट्टै हुने बताए ।

चौतारीसँग एकताका लागि शुक्रबार बिहान सेन्टर केन्द्रीय कमिटीको बैठक बस्ने र दिउँसो संयुक्त भेला गर्ने कार्यक्रम रहेको छ ।