कभर स्टोरी

माइक्रो बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु

By Bala Adhikari

June 15, 2018

चितवन, असार १ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३, चुम्लिङटारमा माइक्रो बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठोरले बताएका छन् ।

आज बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ७२९२ नम्बरको माइक्रो बस र काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ४०६४ नम्बरको मालबाहक ट्रक एक–आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा माइक्रो बसका चालकसहित ४ जनाको घटनास्थलमा नै मृत्यु भएको एसपी राठोरले बताए । चालक कास्की रुपाकोट–८ बस्ने चन्द्र बहादुर केसीबाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन। एसपी राठोरका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र १ महिला रहेका छन् ।

घाइते हुनेहरुमा तनहुँका सुशिल कार्की, चितवन भरतपुर–२९ का आश आलेमगर, तनहुँ देवघाटका सन्तोष प्याकुरेल, गोरखा पालुङटारका ईश्वर बोगटी, तनहुँ दुलेगौंडाका बुद्धबहादुर नेपाली र मकवानपुर हेटौँडाका रञ्जित राई रहेको प्रहरी प्रमुख राठोरले जनकारी दिएका छन् ।

प्याकुरेल, बोगटी, राई तथा अन्दाजी ३० वर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक तथा दुवै सवारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।