कभर स्टोरी

आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव : उपप्रधानमन्त्री यादव

By Bala Adhikari

June 15, 2018

काठमाडौँ, असार १ । आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रद्वारा आज राजधानीमा आयोजित नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै उनले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताए ।

आयुर्वेद परम्परा, संस्कृतिसँग जोडिएकाले यसको प्रवद्र्धन गर्दै नयाँ रोगको उपचार पनि आयुर्वेद पद्दतिबाट गर्न आधुनिक ज्ञान, प्रविधिको विकास गरिनुपर्छ– उपप्रधानमन्त्री यादवले भने ।

नीतिनिर्माण तहमा आयुर्वेदलाई महत्व नदिइएकाले अपेक्षित विकास र विस्तार हुन नसकेको उनको भनाइ छ । मन्त्री यादवले जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा आधुनिक औषधि आयात गर्नुपर्ने अवस्थामा समेत कमी आउने प्रस्ट पारे ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले सरकारले आयुर्वेदलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै देश संघीयतामा गइसकेकाले यसको अझ विकास हुने विश्वास व्यक्त गरे ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका लागि काम शुरु भइसकेको बताए । हामीले विभिन्न विषयमा अनुसन्धान गर्न तयारी थालेका छौँ, यसका लागि दुई छिमेकी भारत, चीनका विशेषज्ञसहितको गोष्ठी आयोजना गरिएको उनले बताए ।

नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्राडा सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको उल्लेख गर्दै आयुर्वेदको पाण्डुलिपिमा नेपालसँग भएको ज्ञान अरुसँग नभएको उनको भनाइ छ ।

नेपाल र भारत वातावरणीय, सांस्कृतिक, भौगोलिक र जैविक विविधतामा समान छन्, हामीले आयुर्वेदको विकासका लागि आपसी सहकार्य गर्दै आएका छौँ, यसलाई अझ मजबुत बनाउनुपर्छ– उनले भने ।

आयुर्वेद नेपालको पनि सम्पत्ति भएकाले शैक्षिक, प्राविधिकलगायतका क्षेत्रमा सहकार्य गर्न राजदूतावासमार्फत सहकार्य गर्न सके प्रभावकारी हुने प्राडा शर्माले बताए ।

नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञसहितको गोष्ठीमा आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने जानकारी गराइएको छ ।