आर्थिक

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्था कडाइ गरिनुपर्ने : विष्ट

By Bala Adhikari

June 17, 2018

काठमाडौँ, असार ३ । आज बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालय अन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ ।

सोे छलफलमा भाग लिँदै नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले स्थानीय तहलाई सक्षम बनाउन बजेट अपुग भएको र दलितमाथि बजेटले भेदभाव गरेको बताएका छन् ।

काँग्रेसकै रामबहादुर विष्टले यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने भन्दै वातावरण विनाश भई शहरमा प्रदूषण वृद्धि हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गरे । काँग्रेसकी लक्ष्मी परियारले जंगल विनाश भइरहेकामा चिन्ता व्यक्त गर्दै नीतिगत भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाएका छन् ।

काँग्रेसकै सञ्जयकुमार गौतमले विनियोजित बजेटले महँगीले आकास छोएको जनाए । नेमकिपाका प्रेम सुवालले सरकारले महिला बेचबिखन नरोकेको, बालश्रम उन्मूलनमा ध्यान नदिएको तथा छाउपडी, झुमा र देउकी प्रथाका बारेमा कसैले पनि नबोलेको बताएका छन् ।

कर्मचारी प्रशासनबाट सुशासनको अनुभूति नभएको राजमोकी दुर्गा पौडेलको भनाइ छ ।