विराटनगर, असार ३ । पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् ।
आज नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्ने प्रष्ट पारेका हुन् ।
नेपाल टेलिभिजनमा प्रसारित कार्यक्रममा मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम बन्द गरिनु, बेला बखत संञ्चार संस्थाहरुमा गुण्डा पठाइनु पत्रकारलाई धम्की दिनु प्रेस विरोधी कार्य भएको केसीले बताएका छन् ।
मूल्य वृद्धिको विरोध कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी काँग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप समेत पार्टी केन्द्रीय सदस्य केसीले लगाएका छन् ।
सरकारका पछिल्ला गतिविधिहरु देश र जनताको अहितमा भएको प्रष्ट पार्दै उनले भने, सरकारले हरेक क्षेत्रमा शासन गर्न खोज्नु बहुमत सरकारको दम्भ मात्र नभएर अपराधिक मनस्थिती पनि हो ।
राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालका लागि उपयुक्त हुने नेता केसीले बताएका छन् ।