कभर स्टोरी

पार्टी व्यवस्थापनभन्दा पनि काम चलाउ मात्रै : नेता पौडेल

By Bala Adhikari

June 18, 2018

चितवन, असार ४ । पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले हार बेहोनुपरेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने उनको भनाइ छ । पार्टी विधान अनुरुप चल्नु पर्ने भन्दै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी व्यवस्थापनभन्दा पनि हाल काम चलाउ मात्र भएको बताउँदै उनले अब कसरी चल्छ हेर्दै जाने बताएका छन् । मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलको भनाइ छ ।

सभापतिहरुले प्रदेशहरुमा छलफल गरी पार्टीको विधान, संगठन, निर्वाचनको मूल्याङ्कन गर्दै आ–आफ्ना विचार व्यक्त गर्ने र यसले पार्टीलाई भविष्यमा कसरी सुदृढ बनाउने भन्ने विषयमा मद्दत पुग्ने उनले बताएका छन् ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रस्ट पारे । पार्टीलाई सुधार्नु पर्यो, संस्थागत रुपमा चलाउनुपर्यो, नियमसंगत रुपमा पार्टी अगाडि बढ्नुपर्यो– उनले भने ।

कार्यकर्ताको भावना अनुसार पार्टी चल्न नसकेको बताउँदै उनले अब पार्टीलाई संस्थागत रुपमा चलाउनुपर्नेमा जोड दिएका छन् ।

नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको उनले बताएका छन् ।