कभर स्टोरी

पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने : नेता सिंह

By Bala Adhikari

June 18, 2018

चितवन, असार ४ । पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३ को प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याएका छन् ।

प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै सिंहले भने यो अवस्थामा पार्टी चल्दैन, अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ ।

पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी रहेको उनले प्रष्ट्याएका छन् । वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त संघका केन्द्रीय अध्यक्ष जगतप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, संघका केन्द्रीय महासचिव राजेन्द्रप्रसाद गौतम, प्रदेश उपाध्यक्ष विष्णु गौतम, प्रदेश नं ५का संयोजक मदन कट्टेल, प्रा डा तेजबहादुर केसीलगायतले कार्यक्रमलाई संबोधन गरेका थिए । सो भेलाले प्रदेश समितिको गठन गर्ने जानकारी गराइएको छ ।