कभर स्टोरी

जनशक्तिको अभावमा अञ्चल अस्पतालको सेवा प्रभावकारी हुन सकेन

By Bala Adhikari

June 19, 2018

दाङ, असार ५ । मिर्गौला रोगीका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको डाइलोसिस सेवा जनशक्ति अभावका कारण प्रभावकारी हुन सकेको छैन ।

उपकरण र जनशक्तिको अभावले गर्दा सेवा प्रवाहमा समस्या भएको अस्पतालले बताएको छ । दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा थालिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भने अत्यधिक भएको अस्पताल प्रशासनले बताएको छ ।

हाल जडान गरेको उपकरणबाट छजना बिरामीलाई मात्र सेवा दिन सकिने भएकाले मिर्गौला रोगीले अन्य स्थानमा गएर सेवा लिन बाध्य भएका छन् । अस्पतालका निमित्त मेसु डा विनोद सिंंहले मेशिनको उपकरण र चिकित्सक अभावले गर्दा सोचेअनुरुप सेवा प्रदान गर्न नसकेको जनाए । उनले हप्तामा दुईपटक एकजनालाई सेवा दिने गरेको बताएका छन् । हामीहरुसँग दुईवटा मात्र उपकरण छन् ।

डाइलोसिस सेवाका लागि प्राप्त जनशक्ति र उपकरण अभावका कारण सबैलाई सेवा दिन सकेका छैनौँ, डा सिंहले भने– अर्को उपकरण र जनशक्ति भएमा सेवा प्रवाहमा सहज हुन्छ । हाल एकजना फिजिसियन डाक्टर, दुईजना स्टाप नर्स र कार्यालय सहयोगीबाट सेवा सञ्चालन भइरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले पनि उपकरणको अभाव र जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएकाले मन्त्रालय तथा स्थानीय तहसँग पहल भइरहेको बताएका छन् । कसरी अस्पतालको विकास गर्न सकिन्छ र धेरै विशेषज्ञ सेवा दिन सकिन्छ भन्नेमा हामीहरुले पहल गरिरहेका छौँ– उनले भने ।

त्यस्तै अस्पतालले थाल्ने भनेको सघन उपचार कक्ष (आइसियु) सेवा पनि शुरु हुन सकेको छैन । अस्पतालमा तीन वर्ष पहिले नै आइसियु सेवा सञ्चालनका लागि ल्याएका उपकरण सहितका औजारमा पनि खिया लागिसकेका छन् ।

अध्यक्ष देवकोटाले– आइसियु सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार भएपनि जनशक्ति अभाव छ त्यसैले सेवा शुरु गर्न सकिएको छैन । तेह्रजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल चारजना मात्र चिकित्सक कार्यरत छन् । अस्पतालमा पाँचजना मेडिकल अधिकृत रहेको र एकजना बिदामा रहेको जनाइएको छ ।

सो अस्पताल एक वर्षदेखि मडिकल सुपरिटेण्डेन्टविहीन छ । एक वर्ष पहिले यहाँका मेसु सरुवा भएर गएपछि मन्त्रालयले हालसम्म पनि मेसु पठाएको छैन ।

हाल कामकाजका लागि अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहलाई निमित्त मेसुको जिम्मा दिए पनि एक वर्षदेखि अञ्ंचल अस्पताल मेसुविहीन अवस्थामा छ ।