कभर स्टोरी

हलमा जिल्ला सभापति भेला, सडकमा नेविसंघको बहस

By Bala Adhikari

June 20, 2018

हेटौंडा असार ६ । नेपाली कांग्रेस ७७ जिल्लाका सभापतिहरु र केन्द्रिय नेतृत्व हेटौंडाको गर्मीमा कार्यक्रम हलमा छलफलमा व्यस्त भैइरदा नेविसंघको केन्द्रिय नेतृत्व चर्को गर्मीको कति पनि प्रवाह नगरी वर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थ मुल्य वृद्धि विरुद्ध सडक बहस गरिरहेको थियो ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा निर्धारित तेस्रो चरणका देशव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले ३ नं. प्रदेशको राजधानी हेटौंडाको मुल सडकमै सडक बहस सम्पन्न गरेको छ ।

मूल्य समायोजनको नाममा सरकारले अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेविसंघले आन्दोलित हुँदै आइरहेको छ । यस अघि नेविसंघले पहिलो र दोश्रो चरणका कार्यक्रम अन्तर्गत गत जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम सम्पन्न गरिसकेको छ ।

तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत आज हेटौंडामा नेविसंघ मकवानपुरको आयोजना र नेविसंघका अध्यक्ष नैनसिंह महरको प्रमुख आथिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बहसमा नेविसंघ केन्द्रिय अध्यक्ष नैनसिंह महरले सरकारले जनताको ढाड सेक्ने गरि गरेको मुल्य वृद्धि समायोजन नभएर खारेज गर्नुपर्ने बताएका छन् ।

बहसमा नेविसंघ महामन्त्री सरोज कुमार थापा पुर्व सह महामन्त्री निलकन्ठ रिजाल लगायतका नेताहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रम नेविसंघ मकवानपुरका सभापति राजु खतिवडाको अध्यक्षतामा सम्पन्न भएको केन्द्रिय सदस्य तारक केसीले जानकारी दिए ।

गत जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा मुल्य बढाएपछि नेविसंघ सरकारको विरुद्धमा आन्दोलन गर्दै आएको छ ।