कभर स्टोरी

सूचना लुकाउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने

By Bala Adhikari

June 21, 2018

भक्तपुर, असार ७ । सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट बच्न नसक्ने राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् ।

आज नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाद्वारा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कतिपय कर्मचारीले अझै पनि सहज रुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराखेको पाइएकाले त्यस्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै उनले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आम नागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहज रुपमा सूचना उपलब्ध गराउने वातावराणको व्यवस्था गर्न सुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहज रूपमा सूचना प्रदान गर्नका लागि संयन्त्र बनाउन निर्देशन दिने जनाएका छन् ।

सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं)ले सूचनाको हकका बारेमा गाउँगाउँका र तल्लो तहका नागरिकसम्मलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै नागरिकले सूचनाको हकअधिकारका बारेमा जानकारी नपाएसम्म सूचना मागको औचित्य नहुने प्रस्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यद्वय भगवती थापा र लक्ष्मी गारु सम्मानित भएका थिए ।