कभर स्टोरी

मन्त्री बाँस्कोटाले नवनियुक्त सदस्य दुवाडीलाई शपथ दिलाए

By Bala Adhikari

June 21, 2018

काठमाडौँ, असार ७ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शपथ दिलाएका छन् ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि बोल्दै मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको भन्दै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने विचार प्रस्तुत गरे ।

प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ संस्थाको उद्देश्य अनुसारको काम गर्न निर्देशन दिँदै उनले सही र राम्रो काम गर्न कसैलाई पर्खनु नपर्ने कुरा प्रस्ट पारे ।

संस्थाको लक्ष्य हासिल गरेर देशलाई सेवा गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो । उनले भने– बेथितिहरु आफ्नोतर्फबाट पनि नगरौँ र अन्य सेवा प्रदायकबाट पनि हुन नदिऔँ ।

निजी क्षेत्र पनि सेवा प्रवाह गर्ने कुरामा सरकार जत्तिकै इमान्दार हुनुपर्ने उनको विचार छ । प्राधिकरणमा अध्यक्षसहित पाँच सदस्य रहने कानूनी प्रावधान छ ।

धादिङ निवासी दुवाडी प्राधिकरणको बजार व्यवस्थापनतर्फको सदस्यमा खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि नियुक्त भएका हुन् ।