कभर स्टोरी

सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने : राष्ट्रियसभा अध्यक्ष

By Bala Adhikari

June 24, 2018

काठमाडौँ, असार १० । राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आर्कषण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष समयमा सांसदहरु ले आफूले उठान गरेका विषय के कति सम्बोधन भए ? के, कति, कुन कारणले हुन सकेन ? भन्ने प्रश्न समेत गरेका छन् । विशेष समयमा सांसदले मुलुकले भोग्नुपरेका समस्या र समसामयिक विषयलाई उठान गरेका थिए ।

यस क्रममा सांसद खिमलाल भट्टराईले सुकुम्बासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै लुम्बिनी विश्वविद्यालयलाई बहुविषयको विश्वविद्यालय बनाउनुपर्ने माग गरेका छन् । संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न छिटो विधेयक ल्याउन र दाइजो प्रथा अन्त्य गर्न सांसद अनिता देवकोटाले माग गरेकी छिन् ।

तराई÷मधेशका उखु मिलले कृषकलाई उखुको भुक्तानी नदिएको हुँदा उखुखेती गर्ने कृषक आर्थिक समस्यामा परेको सांसद रमेशप्रसाद यादवले जानकारी गराए । स्थानीय र प्रदेश सरकारलाई कानूनको अभावमा आ–आफ्ना कार्य सम्पादन गर्न कठिन परेकोतर्फ सांसद रामनारायण बिँडारीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद तारादेवी भट्टले स्वास्थ्य मन्त्रालयले अचानक हुने महामारी नियन्त्रण गर्न के के कस्तो तयारी गरेको छ त्यसको जानकारी माग गरेकी छिन् । हुम्ला जिल्लामा खाद्यान्न अभाव भएकातर्फ सांसद कविता बोगटीले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

विशेष समयमा सांसद प्रकाश पन्त, खिमकुमार विक, शेरबहादुर कुँवर, रामप्रित पासवान, नरपति लोहार, विमला राई पौडेल, हरिचरण शिवाकोटीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।