विराटनगर, असार ११ । सम्पूर्ण स्थानिय निकायभित्र असार मसान्तभित्र कर्मचारी समस्या समाधान हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको हितमा काम गर्ने जनाएका छन् । मन्त्री पण्डितले दरबन्दी अनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रतिशत, अधिकृतस्तरका ९५ प्रतिशत कर्मचारीले तोकिएको स्थानमा काम गरिरहेको भन्दै केही खरदार र सुब्बासरहका कर्मचारी मात्र अपुग रहेको बताए ।
सरकारले खटाएको ठाउँमा जानुबाहेक कर्मचारीसँग अन्य कुनै पनि विकल्प नभएको प्रस्ट पारे । क्यान्सर, मुटुका बिरामी र सुत्केरी वा सुत्केरी हुन लागेकाबाहेक अरु सबै कर्मचारीले तोकिएको स्थानमा जानुपर्ने उनको भनाइ छ ।
मन्त्री पण्डितले कर्मचारी अभावका कारण कोही कसैले संघीयतामाथि प्रश्न चिह्न खडा गर्नु गलत भएको बताउँदै संघीयता कार्यान्वयनमा शुरुवात भएको बुझ्नु पर्नेमा जोड दिए ।
उनले ट्रेड युनियनमा रहेका कर्मचारीलाई काज फिर्ता गरी कार्यमा खटाइएको बताउँदै अब कर्मचारीले हाजिर गरेर मन्त्रालयमा बस्ने कार्यमा कुनै छुट नदिने बताएका छन् । मन्त्री पण्डितले सबै कर्मचारीका लागि एउटा ट्रेड युनियन निर्माण गर्ने सम्बन्धमा आवश्यक मस्यौदा कानून मन्त्रालय पठाएको जानकारी दिनुभयो जनाएका छन् ।
मन्त्री पण्डितले निर्वाचित जनप्रतिनिधि वा अन्य कसैले भाइभतिजालाई करार, ज्यालादारी कर्मचारीको नियुक्ति गर्ने कार्य रोक्नुपर्ने बताउँदै संघीय सरकारले आवश्यक प्राविधिक कर्मचारी स्थानीय निकायमा केही समयका लागि करारमा नियुक्ति पठाउने बताए ।
संघीय सरकारले प्रदेशिक लोक सेवा चाँडै नै स्थापना गरी माण्डदण्ड अनुसारको राष्ट्रसेवक कर्मचारी चयन गरिने उनको भनाइ छ ।