सुर्खेत, असार १८ । हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्था खतरायुक्त अवस्थामा रहेको छ ।
शनिबारदेखि जुम्लामा अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै जान थालेपछि उनको स्वास्थ्य अवस्था खतरायुक्त हुँदै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले बताए ।
२४ घण्टामा २०० मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिक रुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त हुँदै जान थालेको छ– मेडिकल डाइरेक्टर रोकायाले भने । बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनशन गरेका डा केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले जानकारी गराएका छन् ।
स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनले बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको उनले प्रस्ट पारे ।
डा केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौँ, तर उनको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुश्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेलाई कडाइ गरेका छौँ– प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
डा केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रदै गएको उनले बताएका छन् । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनको भनाइ छ ।
अनशनरत डा केसीका समर्थकले भने उनको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।