काठमाडौं, असार १८ । नियम निलम्बन गरी पारित गर्ने तयारी भइरहेको चिकित्सा शिक्षा विधेयक आज बसेको प्रतिनिधिसभाको बैठकमा कार्यसूचीबाट हटाइएको छ ।
आइतबार नै पेश गर्ने तयारी गरिएको सो विधेयकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विरोध जनाएपछि आजको संसद बैठकमा कार्यसूचीबाटै हटाइएको छ ।
बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले हाल तयार भएको प्रतिस्थापन विधेयक पेश गरेमा आफूहरु अवरोधमा उत्रने बताएपछि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यादेश मात्र पेश गर्ने सरकारको तयारी छ ।
चिकित्सा शिक्षा विधेयकमा परिवर्तन गर्दै सरकारले डा गोविन्द केसीसँग भएको सहमति विपरित संसदमा दर्ता गराएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ । असार २० गतेसम्म पारित गरिनुपर्ने सो विधेयक अन्तिम समयमा मात्र सरकारले प्रतिस्थापन विधेयको रुपमा सदनमा पेश गरेको थियो ।
यसैबीच, प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले जुम्लामा अनसनरत प्राडा गोविन्द केसीमाथि भएको अवरोधको निन्दा गरेका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद वडुले डा केसीको मागलाई समाजवाद उन्मुख सरकारले किन आपत्ति जनाएको भन्दै जानकारी दिन माग गरे ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बडुले केसीको अनसन पुनः सुरु भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्वास्थ सेवालाई गुणस्तरीय बनाउने माग गर्नु गलत नभएको बताएका छन् ।
‘चिकित्सा शिक्षा अध्ययन काठमाडौंबाहिर पनि सर्वसुलभ हुनुपर्ने डा केसीको माग अन्त्यत जायज छ,’ बडुले भने, ‘यसमा वर्तमान समाजवाद उन्मुख सरकारलाई किन आपत्ति भइरहेको हो, संसदलाई जानकारी चाहियो ।
यसअघि नेपाली कांग्रेसको सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै पेश गर्न पनि उनको माग छ । डा केसीको माग सम्बोधन गर्ने कुरामा गम्भीर हुन पनि उनले सरकारलाई अनुरोध गरेका छन् ।
विशेष समयमा बोल्दै सांसद भरतकुमार साहले केसीलाई अनसन बस्न नदिई गरिएको धरपकडप्रति आपत्ति जनाए । ‘विरोध गर्न पाउने संवैधानिक हक भए पनि सरकारले धरपकड गर्ने कार्य किन भयो, त्यसको जानकारी सांसदलाई हुनुपर्ने उनको भनाइ छ ।
केसीलाई अँध्यारो कोठामा राखिएको र जुम्लाको चिसोमा स्वास्थ्य बिँग्रदै गएकोप्रति पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।