आर्थिक

पेट्रोेलियम पदार्थको अभाव देखिन शुरु

By Bala Adhikari

July 03, 2018

बुटवल, असार १९ । रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम हुँदा रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले जनाएका छन् ।

सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँबाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको जनाए ।

पेट्रोलियम पदार्थको हाहाकार नै नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको उनको भनाइ छ ।

कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १५० ट्र्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरेको जनाउँदै दैनिक रुपन्देहीमा सात लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको बताए ।

लुम्बिनी डिजेल सेन्टरका सञ्चालक प्रेम वाग्लेले यो समयमा माग बढी हुने भएकाले सबै ठाउँमा अभाव देखिएको बताए ।

सैनामैनामा एउटा पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ आएपनि अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ छैन भन्ने सूचना टाँस गरिएको छ ।