आर्थिक

शेयर बजार उकालो लाग्यो, हेर्नुहोस कति अंकले बढ्यो

By Bala Adhikari

July 03, 2018

काठमाडौँ, असार १९ । केही समयदेखि लगातार ओरालो मात्र लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले बढेर उकालो लागेको छ ।

शेयर बजार मापक परिसूचक नेप्से ०.६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको नेपाल स्टक एक्स्चेन्जले बताएको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ ।

आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ । आइतबार र सोमबारको तुलनामा शेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ ।

नेप्सेका अनुसार चार उपसमूहको शेयर आज घटेको छ भने पाँच उपमूहको शेयर बढेको छ । बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले उकालो लागेको छ ।

यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ । रिडी हाइड्रोले एकबराबर एक कित्ता हकप्रद शेयर दिने भएको छ ।

कम्पनीले स्टकलाई दिएको जानकारी अनुसार रु ५० करोड १० लाख ५५ हजार १०० बराबरको हकप्रद शेयर जारी गर्ने भएको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद शेयर जारी गरिने भएको छ ।