काठमाडौँ, असार २० । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याउन सफल भएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै बुद्ध एयरका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् ।
फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जानकारी गराएको छ । त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी बताइएको छ । थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।
बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ । बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको हो ।