आर्थिक

प्रारम्भिकदेखि नै गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ – मन्त्री अधिकारी

By Bala Adhikari

July 05, 2018

पोखरा, असार २१ । प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरोकारवाला सबै जुटनु पर्ने जानकारी गराएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उनले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा गरेको लगानीअनुरुपको प्रतिफल आउनुपर्नेमा जोड दिए ।

साविकको जिल्ला शिक्षा कार्यालयबाट रु ५२ लाख, विद्यालयको आन्तरिक स्रोतबाट रु ८४ लाख ९५ हजार र सांसद विकास कोषको रु १५ लाख गरी कूल रु एक करोड ५१ लाख ९५ हजारको लागत निर्माण सम्पन्न गरिएको हो ।

विद्यालयले २०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दशजोड दुई कक्षा शुरु गर्नुका साथै २०७३ सालदेखि सिभिल इञ्जिनियरिङका र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको प्रधानाध्यापक बाबुराम पौडेलले बताए । हाल विद्यालयमा एकहजार ८०० विद्यार्थी अध्ययनरत छन् ।