कभर स्टोरी

मुलुकका ४९ विद्यार्थीलाई सूचना प्रविधि शिक्षाको छात्रावृत्ति दिइने

By Bala Adhikari

July 09, 2018

सुर्खेत, असार २५ । सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले छात्रवृत्ति दिने भएको छ ।

महासंघले आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने कुरा सार्वजनिक गरेको हो ।

सम्मलेनमा महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना, सञ्चार र प्रविधिमा सक्षमता देखाउन सक्ने सबै प्रदेशका महिलालाई पहिलो प्राथमिकता दिएको बताए । उनले फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चार र आइसिटी मेरिट स्कलरसिपबाट तीन जना गरी एक प्रदेशबाट सातजनालाई छात्रवृत्ति दिने जनाए ।

छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेशियाको एशिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँमा स्नातक तहअन्तर्गत बिएस्सी आइटीको अध्ययन गर्न पाउने उनको भनाइ छ ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित कक्षा १२ वा सोसरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत ल्याएकाले आवेदन दिन पाउने जानकारी गराएका छन् ।

त्यसको साथै सिटिइभिटीबाट कम्प्यूटर इञ्जिनियङिमा स्नातक गरेकाले पनि छात्रवृत्तिका लागि दरखास्त हाल्न पाउने उनले बताए । छात्रवृत्तिका लागि साउन ९ गतेसम्म अन्तिम मिति राखेको क्यान महासंघले केन्द्र प्रदेश र जिल्लास्तरको छात्रवृत्ति छनोट समिति गठन गर्ने बताएको छ ।

कार्यक्रममा कर्णालीका दुर्गम जिल्लाका गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ ।