कभर स्टोरी

ललितपुर महानगरपालिकामा निकै कम नगर प्रहरी कार्यरत

By Bala Adhikari

July 09, 2018

ललितपुर, असार २५ । ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा निकै न्यून अथवा १० गुणा कम नगर प्रहरी कार्यरत छन् ।

जहाँ अहिले २३ जना मात्र नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताएका छन् । अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका अति आवश्यक काम मात्रै गर्न सकेका छाँै– उनले भने ।

स्थानीय सरकार सञ्चालन ऐनले महत्वपूर्ण जिम्मेवारी दिए पनि जनशक्ति कमीले गर्दा महत्वपूर्ण काममा बढी लाग्नुपरेको महर्जनको भनाइ छ । जनशक्ति पर्याप्त भए थप प्रभावकारी रुपमा काममा लाग्न सकिने उनको धारणा छ ।

अहिले हामीले नियमित नगरी नहुने काममा जोड दिएका छौँ उनले भने । नगर प्रहरी अहिलेसम्म २०५५ सालमा कायम भएको ३० जना दरबन्दीका आधारमा सञ्चालनमा छ । त्यही दरबन्दीभन्दा सातजना कम अर्थात् २३ जना नगर प्रहरी अहिले कार्यरत छन् ।

दुई दशक पहिलेभन्दा अहिले क्षेत्रफल र जनसंख्या दुवै वृद्धि भएको छ । पहिले उमहानगरपालिका हुँदा २२ वडा र जम्मा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले क्षेत्रफल ३२ वर्ग किलोमिटर भएको महर्जनको भनाइ छ ।

महानगरपालिका हुँदा वडा र जनसंख्या पनि वृद्धि भएको छ । नयाँ ठाउँ थपिने र पुरानो ठाउँमा पनि जनसंख्या वृद्धि भएको छ ।