काठमाडौँ, असार २६ । काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जोड दिएका छन् । शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तकको विमोचनका क्रममा महामन्त्री कोइरालाले काँग्रेस अप्ठारो स्थितिमा रहेकाले सबैलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।
उमा दिदीलाई बिर्सदा कोइराला परिवार पूर्ण नहँुने बताउँदै कोइरालाले भने, उहाँ हाम्रो परिवारको सदस्य हुनुहुन्थ्यो । विराटनगरस्थित कोइराला निवास उमा दिदीबिना अधुरो भएको भन्दै उनले आमाले जस्तै हेरचाह गर्ने अभिभावक गुमाएको स्मरण गरे ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिमा नैतिकता आवश्यक भएको स्पस्ट पार्दै वर्तमान सरकारमा नैतिकताको कमी भएको टिप्पणी गरे । कोईरालाले देश राणा र पंचायतीयुग भन्दा पनी निरंकुश बाटोमा प्रवेश गर्न लागेको बताए । कोईरालाले बर्तमान सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादर्फ लम्केकाले प्रजातन्त्रका लागी पुन एकपटक लड्ने दिन आउन लागेको बताएका छन् ।
हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं, कोइरालाले भने, तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउने हो भने त्यो हामी स्विकार्न तयार छैनौँ । कोईरालाले गुटबन्दीले कांग्रेस पार्टी ईतिहासकै कमजोर बनेको बताएका छन् । मन्चबाट नेताहरुले हात उठाएर हामी एक छौं भन्दैमा पार्टी एक नहुने उनले ठोकुवा गरे । पार्टी एक तब मात्रै हुन्छ जब नेताहरु बिधानसम्मत हिड्छन् उनले भने । डा कोइरालाले भने उमा दिदीबाट नैतिकता र प्रतिबद्धता सिक्न सकिने भएकाले उनको संर्घषले जीवन हरेस खान नहुने प्रेरणा लिन सकिने जानकारी गराए ।
पुस्तकका लेखक तथा शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानी उमा शर्माले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष बाहिर नआउँदा धेरैलाई उनीबारे जानकारी नभएको प्रष्ट्याए । साथै उमा शर्माको योगदानलाई सबैका सामु ल्याउनु पर्ने महसुस गरी पुस्तक तयार पारिएको बताए । दाहालका अनुसार राजनीतिक उच्च ओहोदामा पुगेका विशिष्ट व्यक्तिहरुको बारेमा पुस्तक लेखिएका भएपनि प्रजातन्त्र सेनानी उमा शर्माको जीवनीमा आधारित पुस्तक कसैले नलेखेका कारण आफुले उनको जीवनीमा आधारित पुस्तक तयार पारेको बताए ।
विसं १९९६ मा ललितपुरमा जन्मिएकी उमा शर्माको पुरा नाम उमालक्ष्मीदेवी शर्मा हो । उनको क्यान्सरका कारण २०७३ सालमा निधन भएको थियो । उनले विराटनगरस्थित कोइराला निवासमा बसेर डा शेखर कोइराला, डा शशांक कोइरालालगायतलाई हुर्काएकी थिइन भने प्रजातन्त्र प्राप्तिको आन्दोलनमा तीन वर्ष जेल जीवन बिताएकी थिइन् ।