कभर स्टोरी

नेविसंघको १२ औं महाधिवेशनको मिति घोषणा

By Bala Adhikari

July 11, 2018

काठमाडौं, असार २७ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको घोषणा गरेको छ ।

नेविसंघको बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले महाधिवेशनको मिति घोषणा गरेको हो । संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरिएको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको छ भने उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ ।

      

                 

समितिले ५ दिनभित्र नियमावली तयार पारिसक्र्नुपर्नेछ । यस्तै अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीको संयोजकत्वमा महाधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम समिति गठन गरिएको छ भने उपाध्यक्ष नविन राईको संयोजकत्वमा विधान मस्यौदा तयार गर्न विधान समिति गठन गरिएको केन्द्रीय सदस्य सुशील भट्टले बताएका छन् ।

महाधिवेशन सम्पन्न गर्न प्रचारप्रसार समिति, आवास तथा भोजन व्यवस्थापन समिति, शैक्षिक प्रतिवेदन समिति, सांगठनीक तथा राजनीतिक प्रतिवेदन समिति, स्वयम्सेवक परिचालन समिति, मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, खानेपानी, यातायात, विवाद निरुपण र आर्थिक समिति गठन गरिएको छ ।

बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरित गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ ।

विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदानन नहुँदासम्मको लागि कार्यतालिकासमेत तय गरेको छ ।