कभर स्टोरी

छ महिनामा ६९ जनामा एचआइभी संक्रमण फेला, ५ जनाको मृत्यु

By Bala Adhikari

July 12, 2018

चितवन, असार २८ । सन् २०१८ को छ महिनामा जिल्लामा ६९ जनामा एचआइभी संक्रमण फेला परेको छ ।

भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा फेला परेको सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बताए ।

एचआइभी र क्षयरोगको संक्रमण देखिएको आशंकामा ४३४ जनाको परीक्षण गरिएकामा १० जनामा दुवै रोग लागेको पाइएको छ । यससँगै जिल्लामा खुलेर आउने एचआइभी संक्रमितको संख्या एक हजार ६१६ जना पुगेको छ । उनीहरुमध्ये ८४२ पुरुष, ६४८ महिला र १२६ बालबालिका रहेका छन् ।

अहिले सेन्टरमा एचआइभी एड्स रोकथामका लागि ८१५ जनाले एआरभी औषधि प्रयोग गर्दै आइरहेको सेन्टरले बताएको छ । सेन्टरले सन् २०१७ जुनसम्ममा सात हजार ६३९ जनाको एचआइभी परीक्षण गरेकामा ४७ जनामा एचआइभी संक्रमण फेला परेको थियो । अघिल्लो वर्ष संक्रमण देखिएका सहित सन् २०१८ मा मात्रै ९४ जना नयाँ संक्रमितले औषधि प्रयोग गर्न शुरु गरिसकेका छन् ।

एचआइभी संक्रमण रोक्नका लागि जिल्लाका विभिन्न स्थानमा ५५ हजार ४१७ थान कण्डम वितरण गरिएको छ । प्रदेश नं ३ र ७ एचआइभी संक्रमणका दृष्टिले जोखिम प्रदेश रहेको बताइएको छ । नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण रहेको अनुमान गरिएको छ । तीमध्ये १९ हजार ७०२ जनामा सो संक्रमण पत्ता लागिसकेको छ । उनीहरुमध्ये १५ हजार २६० जनाले नियमित औषधि सेवन गर्छन् ।

एचआइभी संक्रमणका कारण जिल्लामा छ महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । सन् २०१७ मा ११ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार जना एआरभी औषधि सेवन गरेका छन् ।

नियमित औषधि सेवन नगर्ने र औषधिसँगै मादक पदार्थ सेवन गर्नेको बढी मात्रामा मृत्यु हुने गरेको जनाइएको छ ।

पछिल्लो समयमा एचआइभी संक्रमितमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले क्षयरोगको संक्रमण वृद्धि हुँदै जान थालेको भरतपुर अस्पतालका फिजिसियन डा कल्याण सापकोटाको भनाइ छ । अन्य रोगको तुलनामा संक्रमित ५० प्रतिशतमा क्षयरोगको संक्रमण हुने खतरा रहेको छ ।