कभर स्टोरी

२०५औं भानुजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

By Bala Adhikari

July 13, 2018

काठमाडौँ, असार २९ । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीका अवसरमा आज नेपाल तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसै अवसरमा आज प्रभातफेरी गरी उनको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गरेको बताएका छन् ।

उनले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पणसहित श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उक्त प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत गरिएको थियो ।

जसरी पृथ्वीनारायण शाहले टुक्रिएको राज्यलाई एकिकरण गरेर विशाल राष्ट्र बनाए त्यसरी ने कवि भानुभक्तले छरिएर रहेका नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीक एकिकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसार भरिका नेपाली भाषीहरुबीच भाषिक एकता कायम हुन सकेको हो ।

आधुनिक नेपाली भाषाको जति विकास भएको भए पनि सुरुमा नेपाली अक्षर चिनाउने र नेपाली भाषाको वाणीमा पहिलो प्राण भर्ने काम भानुभक्तले नै गरेका थिए । साहित्यका माध्यमबाट लोकहित गर्दै सहज रुपमा समाज सुधारको सुरिलो स्वर सुसेल्दै आफ्ना भावना पस्किएका भानुभक्तले नेपाली साहित्यलाई साहित्यका माध्यमबाट समस्त जनताको हृदयलाई स्पर्श गरेका छन् ।

अयोध्याका राजा रामको जीवनीलाई रामायण मार्फत सरल नेपाली भाषामा अनुवाद गरेर नेपाली जनतामा ठूलो गुन लगाएका छन् । वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गरेका थिए ।

वि.सं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मिएका भानुभक्तका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ जस्ता लोकप्रिय कृतिहरु रहेका छन् ।