कभर स्टोरी

देशमा अहिले सरकार नभएकाे अनुभूति : डा केसी

By Bala Adhikari

July 15, 2018

काठमाडौं असार ३१ । १५ दिनदेखि जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय समिति जुम्ला पुगेको छ ।

स्वास्थ्य सुधारको माग गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, बाँके नेविसंघ जिल्ला अध्यक्ष पूर्ण आचार्य, नेविसंघ नेता दुर्गा कापडीलगायतको टोलीले शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर डा. केसीसँग भेट गरेको हो ।

डा. केसीलाई भेटेर फर्केपछि महामन्त्री काफ्लेले भने, ‘उनको स्वास्थ्य स्थिति एकदम गम्भिर बनेको छ । सरकारले छिटोभन्दा छिटो डा. केसीको माग सम्बोधन गर्नुपर्छ ।’ नेविसंघको टोलीसँगको भेटमा डा. केसीले ‘अहिले पनि देशमा सरकार छ र ?’ भन्दै हँसाएका महामन्त्री काफ्लेले जानकारी दिए ।

डा. केसीको भनाई उद्धृत गर्दै काफ्लेले भने, ‘देशलाई मेरो चिन्ता हो भने माग छिटो सम्बोधन गरोस् । राज्यको चिन्ता हो भने माथेमा प्रतिवेदन पढोस् ।’

‘डा. केसीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर आम नेपाली जनाता र विद्यार्थीका लागि लडेका हुन्,’ उनले भने, ‘केसीको जीवन रक्षाको लागि सरकारले छिटोभन्दा छिटो माथेमा प्रतिवेदन लागु गर्नपर्छ ।’

आइतबारदेखि जुम्लामा बृहत विरोधसभा र धर्ना लगायतका कार्यक्रमहरु गर्ने उनले बताए । उनले भने, ‘भोलिदेखि स्थानीयहरु पनि रिले अनसनमा बस्ने कुरा भएको छ ।’