काठमाडौँ, साउन १ । आइतबार र सोमबार बढेको शेयर बजार आज एक्कासी आठ अंकले घटेर ओरालो लागेको छ ।
शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले ओरालो लागेर एक हजार २०४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।
यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले ओरालो लागेर २५३.६२ विन्दुमा आइपुगेको छ ।
कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार आज तीन उपसमूहको शेयर उकालो लागेको छ, भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७.६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले ओरालो लागेको छ ।