आर्थिक

राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाको अभियान शुरु

By Bala Adhikari

July 19, 2018

काठमाडौँ, साउन ३ । औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउनका लागि अभियान थालिएको छ ।

आर्थिक वर्षको प्रारम्भसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान शुरु गरेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि बुधबारबाट अभिमुखीकरण प्रारम्भ भइसकेको छ ।

प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको अभियानमा सहभागी गराएर सम्बन्धित वडाका नगरवासीलाई सूचित गराउनुपर्नेछ । त्यसैले शुरुवातको समयमा प्रशासनका कर्मचारी र जनप्रतिनिधिलाई यस अभियानमा सहभागी गराइएको छ ।

बुधबार अभियानको प्रारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाबाट स्वीकृत विधेयकका व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच एउटै बुझाई हुनुपर्ने जरुरी रहेकाले अभियान थालेको बताए ।

नगरसभाले आव २०७५/०७६ का लागि स्वीकृत गरेको आर्थिक विधेयकको व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच द्विविधा उत्पन्न नहोस् भन्ने हेतुले अभिमुखीकरण थालिएको पनि प्रमुख शाक्यले बताए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकलाई सम्बन्धित शीर्षकमा कर तिर्न जिम्मेवार बनाउन र लिएको कर खर्च भएको शीर्षक देखाउन पनि यस्ता अभियानको खाँचो पर्ने विचार व्यक्त गरिन् ।

महानगरले ठूलो संख्यामा एकैपटक तथा सानो सानो समूहमा गरी पटकपटक अभिमुखीकरण गरेर राजस्व प्रशासनलाई मजबुत बनाउने लक्ष्यका साथ अगाडि बढेको छ ।

विगतका ऐन र कानूनी व्यवस्थालाई विस्थापित गर्दै नयाँ व्यवस्थाको थालनी भएकाले गर्दा पनि यस प्रकारको कार्यक्रमको आवश्यकता देखिएको कामपाका सहप्रवक्ता नवराज ढकालले बताए ।

अभियानमा जनप्रतिनिधि कामपाका कर्मचारी र व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका छन् ।