कभर स्टोरी

प्रदेश ३ को प्रदेशसभा बैठक नेपाली काँग्रेसद्वारा अवरुद्ध

By Bala Adhikari

July 19, 2018

हेटौँडा, साउन ३ । प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले तीन नं प्रदेशसभाको आजकोे बैठकमा उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगन गरिएको छ ।

नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनरुपको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिइएको छ ।

उनले नेपालको संविधानबमोजिम सभामुख, उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान भए पनि नेकपा एमाले तथा नेकपा माओवादी पार्टी एकीकृत भइसके पश्चात अब एक पद प्रतिपक्षहरुलाई हस्तान्तरण गर्न आग्रह समेत गरेका छन् । सांसद् बानियाँले डा गोविन्द केसीले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताप्रति समर्पित भएर उठाएको राष्ट्रिय सरोकारको विषयलाई वर्तमान सरकारले उपेक्षा गरेर गलत काम गरेको आरोप समेत लगाएका छन् ।

त्यसपछि बैठकमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सरोकारको विषयमा उठाइएका माग सरकारले पूरा नगरेसम्म संसद् अवरुद गर्ने प्रदेशसभा नेपाली काँग्रेसको संसदीय दलको निर्णयबमोजिम आ–आफ्नो आसनबाट उठेर सदस्यहरु उभिएर बैठक अवरुद्ध भएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक भोलि साउन ४ गते दिनको ११ बजे बस्ने गरी आज २ बजे शुरु भएको बैठक २ः३० बजे स्थगन गरेका हुन् ।