कभर स्टोरी

अनशनरत डा केसीसँगको वार्ता अनिश्चित

By Bala Adhikari

July 20, 2018

काठमाडौँ, साउन ४ । २१ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था खराब भएपछि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ उपचारका लागि ल्याइए पनि मागका सम्बन्धमा वार्ता गर्नेबारेमा अन्योलता देखिन्छ ।

उनीसँग थप वार्ताबारे छलफल भएपनि अर्काे निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता रोकिएको थियो ।

डा केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका छन् । सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

डा केसी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्म अनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ ।

डा केसीलाई ल्याउनु अत्यावश्यक भएकाले विहीबार बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । अनशनरत डा केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।