कभर स्टोरी

देशभर सवारी दुर्घटनामा कमी भएपनि उपत्यकामा दुर्घटना बढ्दो

By Bala Adhikari

July 23, 2018

काठमाडौँ, साउन ७ । उपत्यकामा पछिल्लो समय सवारी दुर्घटनाका घटनामा वृद्धि भइरहेको बेला देशभरमा भने दुर्घटनामा कमी आएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा देशभरमा सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ । आव २०७४/७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३ र महिला ३६१, बालक १६० र बालिका ८४ रहेका छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।

ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटनामा कमी आएको बताए । आव २०७३/७४ मा दुई हजार ३८४ जनाको मृत्यु भएको उनले जनाए । आव २०७३/७४ मा १० हजार १७८ दुर्घटना भएको थियो । यस्ता दुर्घटनाहरु चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रौ सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनाइ छ ।

काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको मृत्यु भएको छ । आव २०७२/७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१/७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको मृत्यु भएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

ट्राफिक निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटनामा वृद्धि भएको छ । आव २०७३/७४ मा १८२ मृत्यु भएकामा आव २०७४/७५ मा १९४ जनाको मृत्यु भएको छ । यस्तै आव २०७२/७३ मा १६६, आव २०७१/७२ मा १३३ र आव २०७०/०७१ मा १४३ जनाको मृत्यु भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए । चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको उनको भनाइ छ ।

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारण अन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । पच्चीस प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने उनले बताएका छन् ।

यस्तै ७० प्रतिशत दुर्घटना घरको ४० किलोमिटर वरपर हुने गरेको छ । श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउँछन् । मादक पदार्थ सेवन गर्नेलाई (मापसे) रोक्न सके चार देखि २४ प्रतिशत कम हुनसक्ने उनको धारणा छ ।

काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२/७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ ।