गोरखा, असार २० । धन कमाउने अभिलासा बोकेर वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा बसी फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक रुपमा माछापालन गर्न थालेका छन् ।
तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेतीको कार्य सुरु गरेका हुन् । सहारा कृषक समूहमार्फत सोह्रजना युवक मिलेर १३ वटा पोखरीमा माछापालको काम थालेको समूहका अध्यक्ष सुरज आलेले बताए । सोह्रजनामध्ये आठजना वैदेशिक रोजगारीमा गएर स्वदेशमै केही गर्ने उद्देश्यका साथ नेपाल फर्किएका हुन् ।
विदेशमा दुःख गर्दा पनि सोचेजस्तो कमाइ नभएको तर स्वदेशमा कम दुःखमै मनग्य आम्दानी भएको ती युवा बताउँछन् । कमन कार्फ, सिल्भर कार्फ, बिग हेड र रघुनौनी जातका माछापालन गरिएको उपाध्यक्ष रमेश थापाले जानकारी दिए । जुन माछा बजारमा पठाउँदा प्रतिकेजी रु ३०० मा पठाइन्छ भने एक÷दुई किलो बेच्दा प्रतिकेजी रु ४०० पर्ने थापाले बताए । व्यावसायिक कृषि उत्पादनमा जुटेका युवालाई जिल्ला कृषि विकास कार्यालयले पनि केही अनुदान सहयोग उपलब्ध गराएको छ ।
विदेशबाट फर्किएका युवा कल्लेरीमा पनि लाफा नमुना कृषक समूह गठन गरेर व्यावसायिक कृषि उत्पादनमा जुटेका छन् । समूहमा दश जनामध्ये आठजना साउदी, कतारलगायत विभिन्न देशमा काम गरेर फर्किएका युवा छन् । समूहका अध्यक्ष शिवराना मगरका अनुसार ६ रोपनी क्षेत्रफलमा नौवटा माछापोखरी, कुखुरापालन, १० रोपनी क्षेत्रफलमा घिरौंला, करेला लगायतका मौसमी÷बेमौसमी तरकारीखेती र सात रोपनीमा केराखेती गरिएको छ । अर्का कृषक झक्कल थापाका अनुसार स्थानीय जातका सुँगुरपालन पालन पनि सुरु गरिएको छ । यस्तै, तरकारीखेती र माछापालन वृद्धि गर्ने तयारी पनि गरिएको छ । समूहका सदस्यलाई एक/एकवटा कामको जिम्मेवारी दिइएको छ । बजार प्रवद्र्धन गर्ने र हरहिसाब दुरुस्तै राख्ने काम समूहकै सदस्यले गर्छन् ।
सडतीस रोपनी जग्गा भाडामा लिएर युवाले एकवर्ष अघिदेखि कृषि व्यवसाय गर्दै आएका हुन् । तरकारीखेती सिँचाइका लागि सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने मेसिन राखिएको छ । यसका लागि थोपा सिँचाइ कार्यक्रम मार्फत रु ३० हजार र माछापोखरी निर्माणका लागि रु ५० हजार अनुदान कार्यालयबाट उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले जानकारी दिए । बजारमा दिनानुदिन माछाको माग बढ्दै जान थालेपछि कृषकहरु तथा युवाहरु आत्मनिर्भर बन्ने उद्देश्यका साथ व्यवसायिक माछापालनमा जुटेका हुन् ।