काठमाडौँ, साउन १३ । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेसले कारवाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराएको हो ।
काँग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन भएको आरोप लगाएको छ ।
उक्त अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर गर्दै काँग्रेसका सांसद डिला संग्रौला (प्रस्तावक) तथा लक्ष्मी परियार र प्रमिला राई (समर्थक) ले तत्काल कानुनी कारवाहीका लागि उक्त प्रस्तावको सूचना दिएका हुन् ।
त्यस्तो अभिव्यक्तिले मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा समेत आँच पुर्याउन सक्ने भन्दै उनीहरुले निजमाथि कानूनी कारवाही गरी संविधान र कानूनको पालनामार्फत नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक रहेकाले प्रस्ताव दर्ता गराएको उल्लेख गरेका छन् ।