कभर स्टोरी

अस्ट्रेलियन राष्ट्रिय फुटबल टोलीमा नेपाली युवा

By Bala Adhikari

July 29, 2018

नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे नापीत यतिखेर अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा छनोट हुन सफल भएका छन । नेपाली मुलका बाबु श्री नापीत र आमा प्रतिक्षा पाण्डेका जेठा छोरा प्रतिक सानै उमेरदेखि फुटबलमा होमिएका थिए । सिड्नीका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएको प्रतिकले स्कुल, क्षेत्र ,राज्यस्तरिय छनोट र प्रतियोगिताहरुको आफ्नो कुशल प्रर्दशनपछि युथ १९ स्कुल राष्ट्रिय टोलीमा स्थान बनाएका हुन । अग्रपंक्तीमा खेल्ने प्रतिकको खुबी भनेको बललाई सटिक प्रहार र प्रतिद्धन्द्धीको पोष्टमा अचुक निशानानै महत्वपुर्ण रहेको उनको खेललाई नजिकवाट नियाल्नेहरु बताउछन । सीड्नीको म्यानली युनाइटेडवाट नेशनल प्रीमियर डिभिजन वन खेलिरहेका प्रतिकले अब अस्ट्रेलियाको राष्ट्रिय पोशाक भिर्ने मौका प्राप्त गरेका छन । हामी जस्तो प्रवासीहरुको लागि यो सबैभन्दा खुसीको कुरा हो , एउटा नेपाली ठिटोले अस्ट्रेलियाको प्रतिनिधित्व गर्न पाउनु सबैका लागि गर्वको बिषय पनि हो , प्रतिकका पीता तथा पुराना फुटबलर श्री नापीतले बताए । प्रतिकले केहि महिनामै एउटा अन्तराष्ट्रिय प्रतियोगितामा बेलायत,आयरल्यान्ड र स्कटल्यान्डसँंग खेल्ने पाउने भएका छन । युथ १९ राष्ट्रिय टोली छनोटको आधारका रुपमा पनि लिइने हुनाले प्रतिकको यो पहिलो खुटकिलो निकै महत्वपुर्ण रहेको श्री नापीतको ठहर छ । यसमा प्रतिकले उत्कृष्ट प्रर्दशन गरयो भने राष्ट्रिय टोलीमा समेत अवसर पाउन सक्छ , यसैले पनि यो महत्वपुर्ण अवसरका रुपमा हामीले लिएका छौ, श्रीनापीतले सेतोपाटीलाई बताए । प्रतिक सानैदेखि फुटबलमा रुचि राख्ने र यसमा दत्तचित्त भएर लागेको धेरै भैसकेको छ, उसको उद्देस्य भनेकै ब्यवशायीक फुटबलर बन्ने हो , नापीतले सुनाए । आरसीटीवाट फुटबल खेलेका श्री नापीतलाई छोराको यो फड्कोले निकै ठुलो खुसी दिलाएको छ । यो उसको इच्छा र परिबारको सहयोगवाट सम्भव भएको हो , नापीतले बताए । अस्ट्रेलियामा फुटबलमा लागिपरेका पुराना फुटबलर राजु मानन्धर प्रतिकको सफलताले नेपाली समुदाय गौरवान्बीत भएको बताउछन । एउटा नेपालीको छोराले अस्ट्रेलियाको राष्ट्रीय जर्सी लाउन पाउनु चानचुने कुरा होइन, यो सम्भवत हाम्रो समुदायको पहिलो महत्वपुर्ण छलाङ हो अस्ट्रेलियाको खेलकुदमा, अखिल नेपाल फुटबल संघका पुर्व कोषाध्यक्ष समेत रहेका मानन्धरले बताए ।