काठमाडौंँ, साउन १४ । आर्थिक पारदर्शिता कायम गर्नका लागि त्रिभुवन विश्वविद्यालयमा ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालन गरिएको छ ।
त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले उक्त सफ्टवेयरको आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाको आर्थिक पारदर्शिता कायम गर्नका लागि त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालन गरिएको हो ।
‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्नुपर्ने जरुरी रहेको बताउँदै उनले भने अब नयाँ प्रणाली अनुसार समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसक्ने शाखाको बजेट निकासा रोकिन्छ ।
नायब महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई आग्रह गर्दै त्रिविजस्ता शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायराभित्र ल्याउनका लागि सफ्टवेयर सञ्चालन उपयोगी हुने बताए ।
लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिविमा बेरुजु नियन्त्रणको प्रयास भइरहेको जनाएका छन् ।