कभर स्टोरी

स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप हुनु नहुने : गच्छदार

By Bala Adhikari

July 31, 2018

विराटनगर, साउन १५ । संविधानको रक्षाका लागि काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताए ।

सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोप लगाउँदै उनले संवैधानिक व्यवस्था अनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल र बेग्लाबेग्लै लिंगको हुनुपर्ने व्यवस्था भएकोमा अहिले एउटै पार्टीको भएकाले संविधानको उल्लंघन भएको बताएका छन् ।

उनले वर्तमान कामु प्रधानन्यायाधीश ३० वर्ष न्याय क्षेत्रमा काम गर्दा उनको शैक्षिक प्रमाणपत्र छानबिन नहुनु अहिले प्रमाणपत्रको छानबिन गरिनु गलत भएको भन्दै कसैबाट पनि स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप हुनु नहुने विचार व्यक्त गरे ।

एक फरक प्रसंगमा नेता गच्छदारले आगामी महासमिति बैठक अगाडि मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) र काँग्रेसबीच केन्द्रदेखि वडासम्म नेता र कार्यकर्ताको समायोजन हुने बताएका छन् । उनले यस सम्बन्धमा सोमबार नै काँग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच सहमति कायम भएको जनाए ।

यसैबीच, संसदीय सुनवाइ विशेष समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई सिफारिस गर्न बसेकोे विशेष समितिको बैठक सहमतिको आधारमा नै सारिएको बताएका छन् ।

बैठकमा ठोस निर्णय लिनका लागि सबै सदस्यको सहमतिका आधारमा बैठकको मिति सारिएको उनले प्रस्ट्याए । सदस्य कार्कीले आगामी बैठकमा हुने छलफलबाट नै सार्थक निष्कर्ष लिने विश्वास व्यक्त गरेका छन् ।