विराटनगर, साउन १७ । वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उनले उक्त कुरा बताएका हुन् ।
उनले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताउँदै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या सुल्झिन नसक्ने धारणा प्रस्तुत गरे ।
नेपाली काँग्रेसलाई हारको हतास मानसिकता हटाउन अनुरोध गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनोस् उनले भने ।
अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार नै अगाडि बढ्ने बताउँदै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र आफ्नो पार्टीको उच्च प्राथमिकता रहेको प्रस्ट पारे ।