कभर स्टोरी

कालीगण्डकी नदीमा पानीको बहाव ह्वात्तै बढ्याे, सजग हुन अनुरोध

By Bala Adhikari

August 05, 2018

पर्वत, साउन २० । केही दिनदेखियता लगातार रुपमा भइरहेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।

कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षाका कारणले पानीको सतह एक्कासी वृद्धि भएको बढेको हो ।

पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दा चिन्तित बनेका छन् । पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहनका लागि अनुरोध गरेको छ ।

पानीको बहाव वृद्धि भएसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्दछ । धेरै जोखिममा कालीगण्डकी नदी किनार पर्वतको बारी, बेनी तथा बागलुङको सिमाना मालढुंगाको माझी बस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार छन् ।

पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताएका छन् ।

तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जनाए ।