आर्थिक

विपद् व्यवस्थापनमा सरकारको चासो

By Bala Adhikari

July 05, 2017

काठमाडौँ, असार २१ । मुलुकका विभिन्न क्षेत्रमा भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहत कार्यमा सरकार तीव्र अघि बढ्दै आएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

गृहमन्त्री शर्माले व्यवस्थापिका–संसद्को बैठकमा यही असार १३ गतेदेखि आएको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र चट्याङबाट मुलुकभर हालसम्म १५ जनाको मृत्यु, सात बेपत्ता र पाँच घाइते भएको बताए । उद्धार र राहतसँगै मृतकका परिवारलाई काजकिरिया खर्च र पीडितलाई खाद्यान्न, गैर खाद्यन्न सामग्री वितरण तथा सुरक्षित बासस्थानमा सार्ने बन्दोबस्त मिलाएको गृहमन्त्री शर्माले जनाएका छन् ।

उनले सरकारले विपद्मा परी घाइते भएकाको निःशुल्क उपचार गराउन पाउने व्यवस्था साथै जिल्लास्थित दैवीप्रकोप उद्धार समितिसँग आवश्यक समन्वय र परिचालन गरी राहत र उद्धारलाई प्रभावकारी बनाइएको जानकारी दिँदै विपद् व्यवस्थापनलाई आगामी दिनमा झन प्रभावकारी बनाउने सम्बन्धमा मन्त्रालयले आवश्यक नयाँ कानून निर्माण र संशोधनका लागि गृहकार्य गरिरहेको बताएका छन् ।