आर्थिक

आर्थिक वर्ष २०७४/७५ मा एकाउन्न प्रतिशत मात्र राजश्व संकलन

By Bala Adhikari

August 05, 2018

काठमाडौँ, साउन २० । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

गत आवमा रु १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेकामा महानगरपालिकाले रु पाँच अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ । सबैभन्दा बढी घरजग्गा करतर्फ रु ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ ।

घरबहाल करतर्फ रु ५६ करोड ३५ लाख ८ हजार तथा विज्ञापन कर र व्यवसाय करतर्फ रु रु १०/१० करोड राजश्व असुल गरेको छ । सबैभन्दा कम सव–वे करतर्फ रु ५४ हजार असुल गरिएको महानगरपालिकाका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गले बताएका छन् ।

आव २०७३/७४ मा रु दुई अर्ब ७८ करोड ८१ लाख १६ हजार राजश्व संकलनको लक्ष्य लिएकामा रु दुई अर्ब ८२ करोड ५१ लाख १३ हजार संकलन भएको प्रधानाङ्गले जानकारी गराए ।

अघिल्लो आवमा बक्यौता रकम धेरै बाँकी नरहेको तथा बाँकी रकमसमेत असुल हुन नसकेका कारण ५१ प्रतिशत मात्र राजश्व संकलन भएको उनको भनाइ छ । अघिल्लो आवमा एउटै संस्थाले रु ३० करोडसम्म बक्यौता तिरेको थियो, यस वर्ष त्यो अवस्था नरहेको प्रमुख प्रधानाङ्गले बताए ।

महानगरपालिकाले बसपार्क सेवा शुल्क रु ५० लाख असुल गर्ने लक्ष्य लिएकामा रु ४० लाख संकलन भएको छ । सवारी करतर्फ रु दुई करोड लक्ष्य लिएकामा रु ३१ लाख नौ हजार मात्र असुल गरेको छ ।

मालपोत कर भने रु १० करोड लक्ष्य लिएकामा रु ११ करोड ३० हजार असुल गर्न सफल भएको राजश्व महाशाखाले बताएको छ ।