चितवन, साउन २४ । विकास निर्माणको गति अगाडि बढाउनका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारलाई सुझाएका छन् ।
आम रुपमा सरकारको विकासको गति अझै वृद्धि भए हुन्थ्यो भन्ने छ– उनले भने । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई अनुरोध गरेका छन् ।
केही विधेयकहरु समय सीमाको हिसाबले असोज दुई गतेभित्र आइसक्नुपर्ने हुन्छ, त्यसका लागि सरकारलाई घच्घच्याइरहेका छौँ उनले भने । राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उनले जनाए ।
उनले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध वा स्वतन्त्र रुपमा गर्न पाउनुपर्ने बताए । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनले बताए ।